कुमाल समाज नेपालद्वारा ‘पाउधुरे’ नाच तथा गीतको म्युजिक भिडियो छायांकन सम्पन्न

You are currently viewing कुमाल समाज नेपालद्वारा ‘पाउधुरे’ नाच तथा गीतको म्युजिक भिडियो छायांकन सम्पन्न

कुमाल समाज नेपालद्वारा ‘पाउधुरे’ नाच तथा गीतको म्युजिक भिडियो छायांकन सम्पन्न

काठमाडौं। कुमाल जातिको मौलिक तथा राष्ट्रिय पहिचान बोकेको ‘पाउधुरे’ नाच तथा गीतको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले कुमाल समाज नेपालद्वारा म्युजिक भिडियोको छायांकन सफलतापूर्वक सम्पन्न गरिएको छ।कुमाल समुदायको सांस्कृतिक सम्पदा तथा ऐतिहासिक पहिचानका रूपमा रहेको ‘पाउधुरे’ नाच तथा गीतलाई नयाँ पुस्तामाझ परिचित गराउने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने लक्ष्यसहित उक्त म्युजिक भिडियो निर्माण गरिएको हो।उक्त कार्यक्रमबारे जानकारी कुमाल समाजका महासचिव इन्जिनियर गणेश कुमालले दिएका हुन्। नाचको व्यवस्थापन कुमाल समाज कास्की तथा कुमाल विद्यार्थी समाज कास्कीको सक्रिय सहभागितामा सम्पन्न भएको थियो।

गीतका गायक दलबहादुर कुमालसहित समाजका उपाध्यक्ष श्रुति कुमाल, मनन्द्र कुमाल, महासचिव गणेश कुमाल तथा कुमाल विद्यार्थी समाजका केन्द्रीय अध्यक्ष शम्भु कुमाल, सचिव छबी कुमाल लगायतको सक्रिय सहभागिता रहेको थियो। साथै समाजका केन्द्रीय सदस्य चेतबहादुर कुमाल, केशबहादुर कुमाल, सोबबहादुर कुमाल, शर्मिला कुमाल लगायतले समेत सहभागिता जनाएका थिए।नाचको कोरियोग्राफी सन्तोष कुमाल र विपना कुमालले गरेका थिए। परम्परागत पोशाक, मौलिक बाजागाजा तथा सांस्कृतिक शैलीलाई समेटेर छायांकन गरिएको भिडियोले कुमाल जातिको जीवनशैली, संस्कृति र पहिचानलाई जीवन्त रूपमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

कुमाल समाज नेपालका पदाधिकारीहरूले आधुनिकता र विश्वव्यापीकरणको प्रभावका कारण लोपोन्मुख बन्दै गइरहेका मौलिक सांस्कृतिक परम्पराको संरक्षण आजको आवश्यकता भएको बताएका छन्। उनीहरूले ‘पाउधुरे’ नाच तथा गीत मनोरञ्जनको माध्यम मात्र नभई कुमाल समुदायको इतिहास, संस्कृति र पहिचानसँग जोडिएको अमूल्य सम्पदा भएको उल्लेख गरेका छन्।“हाम्रो संस्कृति, हाम्रो पहिचान” भन्ने मूल नारासहित सम्पन्न गरिएको यस अभियानले कुमाल जातिको मौलिक कला, संस्कृति र परम्परालाई भावी पुस्तासम्म हस्तान्तरण गर्ने महत्वपूर्ण प्रयासका रूपमा लिइएको छ।

Leave a Reply