हाम्रो बारे

नेपाल कुमाल समाज सुधार समिति, जसको संक्षिप्त नाम कुमाल समाज नेपाल राखिएको छ, नेपालको संविधान तथा त्यसअनुरूप निर्माण गरिएका नीति, नियम र कानुनी व्यवस्था अन्तर्गत स्थापित एक राष्ट्रियस्तरीय आदिवासी जनजाति संस्था हो। यो संस्था देशका विभिन्न भागमा विशेषगरी पहाडी क्षेत्र, समथर फाँट, उपत्यका, टार तथा भित्री र बाहिरी मधेशमा परम्परागत रूपमा बसोबास गर्दै आएका माटोका भाडावर्तन बनाउने पुख्र्यौली पेसा, मौलिक भाषा, धर्म, लिपि, संस्कृति र कला सहितको ऐतिहासिक र सांस्कृतिक धरोहर बोकेको कुमाल समुदायको एकता, अधिकार, संरक्षण र समृद्धिको लागि समर्पित संस्था हो।माटोका भाडावर्तन बनाउने आफ्नो पुख्र्यौली पेसा, मौलिक धर्म, कला, भाषा, साहित्य र संस्कृतिको धनी कुमाल जाति सामाजिक, आर्थिक, शैक्षिक तथा राजनीतिक दृष्टिले पछाडि पारिएको अल्पसंख्यक आदिवासी समुदायमध्येको एक हो। यही समुदायमा व्याप्त अशिक्षा, अन्धविश्वास र चेतनाको कमी जस्ता समस्याहरूको समाधान गर्न, कुमाल जातिलाई संगठित, सशक्त र सशिक्षित बनाउन, करिब तीन दशकअघि स्थापना गरिएको हो यो समिति।यस संस्थाको उत्पत्तिको कथा २०२८/२९ सालतिरको पाल्पाबाट सुरु भएको सामाजिक सचेतनाको आन्दोलनसँग जोडिएको छ। त्यस आन्दोलनले पछि संगठित रूप लिँदै २०३८ सालमा प्रारम्भिक समिति बनायो र २०५० सालमा पाल्पा जिल्लामा सूर्यबहादुर कुमालको अध्यक्षतामा विधिवत रूपमा दर्ता भयो।पछि २०५७ सालमा सबै जिल्लालाई समेट्ने उदेश्य सिहत सोही संस्था नयाँ ढंगले काठमाडौंमा केन्द्रीय समिति रहने गरी कठमाण्डाै जिल्ला प्रशासनमा दर्ता गरियो र संस्थाले राष्ट्रिय स्तरमा कार्य गर्न थाल्यो।सोही वर्षदेखि नेपाल आदिवासी जनजाति महासंघ तथा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानसँग संस्था औपचारिक रूपमा आवद्ध रहँदै आएको छ। कुमाल समाज नेपाल हाल नेपालका २३ जिल्लामा विस्तार भइसकेको छ। पर्वत, इलाम, स्याङ्जा, झापा, तनहुँ, संखुवासभा, अर्घाखाँची, चितवन, दाङ, धादिङ, गुल्मी, काठमाडौं, कपिलवस्तु, नुवाकोट, पूर्व नवलपरासी, नवलपुर, बागलुङ, पाल्पा, गोरखा, रुपन्देही, कास्की, सुर्खेत र लमजुङ कुमाल समाज नेपालले संगठन विस्तार गरेको जिल्लाहरू हुन्।संस्थाले विभिन्न भातृ संगठनहरू — जस्तै कुमाल विद्यार्थी समाज, युवा कुमाल समाज नेपाल, कुमाल सांस्कृतिक मञ्च, कुमाल पत्रकार समाज — सँग सहकार्य गर्दै समुदायको सबल विकासमा योगदान पुर्‍याउँदै आएको छ।

📌 ऐतिहासिक नेतृत्व: अध्यक्षहरूको विवरण

संस्थाको स्थापनाकालदेखि हालसम्म सातौं केन्द्रीय महाधिवेशनसम्म निम्न अध्यक्षहरूले नेतृत्व गर्नुभएको छ:

सूर्यबहादुर कुमाल (२०५०–२०५३)

भक्तबहादुर कुमाल (२०५३–२०५९)

अर्जुनबहादुर कुमाल (२०६०–२०६३)

जीतबहादुर कुमाल (२०६३–२०६६)

नगेन्द्रकुमार कुमाल (२०६६–२०७२)

नरेन्द्रमान मुखिया कुमाल (२०७२–२०७९)

केवल पाल्पाली कुमाल (२०७२–२०७९)

तेलबहादुर ‘विशाल’ कुमाल (२०७९–हालसम्म)

कुमाल समाज नेपालको निम्न बमोजिमको उद्देश्य रहेको छ,
१. मुलुकभरि छरिएर रहेका कुमाल जातिमा आपसी प्रेम, सद्भाव, भातृत्वको भावना विकास गरी कुमाल जातिको राष्ट्रिय एकता कायम गर्ने ।
२. कुमाल जातिको उत्पति, इतिहास, भाषा, लिपी, संस्कृति, साहित्य र कलाको अध्ययन अनुसन्धान गरी संरक्षण र संम्बद्र्घन गर्ने ।
३. कुमाल समुदायमा ब्याप्त अन्धविश्वास र विसंगति विरुद्ध जनचेतना विकास गरी समुन्नत समुदायका रुपमा देश विकासको मूलप्रवाहमा समावेश हुन प्रेरित गर्ने ।
४. सामाजिक, आर्थिक, राजनैतिक, शैक्षिक तथा अन्य हिसावले पिछडिएका कुमालहरुलाई सबल र सक्षम बनाउन आवश्यक विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने ।
५. कुमाल जातिको भाषा, धर्म, सस्कृति, परम्परा, कला, साहित्य आदिको खोज, अनुसन्धान, संरक्षण तथा संवद्र्धन गर्न विभिन्न सरकारी एवं गैरसरकारी संघ÷संस्थासँग सम्बन्ध तथा समन्वय गर्ने ।
६. कुमाल जातिको पहिचानको रुपमा रहेको परम्परागत माटोको भाडावर्तन बनाउने व्यवसायलाई आधुनिकिकरण र ब्यवसायिकरण गरी आयआर्जन गर्न तालिम संञ्चालन गर्ने ।
७. कुमाल जातिको भाषा, धर्म, संस्कृति, परम्परा, साहित्य, कला आदिको संरक्षण र सम्वद्र्धन गर्न श्रब्यदृश्य सामाग्री उत्पादन गरी वितरण र प्रचार प्रसार गर्ने ।
८. कुमाल समुदायका बौद्धिक ब्यक्तित्वहरुको लेख, रचना प्रकाशन गर्ने ।
९. नेपालभरिका कुमालहरुको अभिलेख राख्ने ।
१०. अन्य जाति एवं समुदायहरु तथा तिनीहरुको संस्कृति, सामाजिक, धार्मिक मूल्य मान्यताप्रति सकारात्मक एवं सद्भावनापूर्ण दृष्टिकोण राखि तिनीहरुको विकासमा सहयोग गर्ने ।