माघे सक्राति नेपाली समाजमा अत्यन्तै महत्वपूर्ण चाडहरूमध्ये एक हो । विशेषतः कुमाल समुदायका लागि माघे सक्राति मौलिक संस्कृति, परम्परा, पहिचान र नयाँ वर्षको सुरुवातका रूपमा जोडिएको राष्ट्रिय पर्व हो । प्रकृति पूजक कुमाल जातिले यो पर्वलाई अत्यन्त श्रद्धा, हर्षोल्लास र सामूहिक सहभागिताका साथ मनाउँदै आएको छ ।माघे सङ्क्रान्ति अर्थात् माघी पर्वका दिन टाढा–टाढा रोजगारी वा बसाइँसराइका कारण छुट्टिएका परिवारका सदस्यहरू आफ्ना पुख्र्यौली घर फर्कने परम्परा रहेको छ । चेलीबेटी, इष्टमित्र र आफन्तहरू एकआपसमा भेला भई सुख–दुःख साटासाट गर्ने, आपसी सम्बन्ध सुदृढ बनाउने र पारिवारिक एकताको अनुभूति गर्ने अवसरका रूपमा यो पर्वलाई लिइन्छ । यस दिन गंगा वा नजिकका नदी, खोला, ताल तलाउ, कुवा पधेराेमा स्नान गर्ने, पितृको सम्झनामा पानी चढाउने र आत्मशुद्धिको भावना राख्ने चलन छ ।
कुमाल समुदायमा माघे सक्रातिका दिन विशेष धार्मिक तथा सांस्कृतिक विधिहरू सम्पन्न गरिन्छ । टपरी गाँसेर त्यसमा माटोको हाँडी राखी मास, जौँ, तिल, अदुवा, बेसार र दुनामा पानी राखेर नदीमा सेलाउने चलन रहेको छ । यसलाई पितृपूजा र प्रकृतिप्रतिको सम्मानको प्रतीकका रूपमा लिइन्छ । साथै नदीघाटमा बालुवाको सानो मन्दिर निर्माण गरी पूजा गर्ने परम्परा पनि छ, जसले प्रकृति र देवत्वबीचको सम्बन्धलाई दर्शाउँछ ।माघे सङ्क्रान्ति खानपानका दृष्टिले पनि अत्यन्त समृद्ध पर्व हो । यस अवसरमा घर–घरमा सेलरोटी, फुरौला, ढिकौरा, मासको दाल, खिचडी, बटुक, सक्खर, तरुल, पिडालु, सखरखण्ड जस्ता प्राकृतिक कन्दमूल पकाइन्छ । विशेष गरी मास र अन्य गेडागुडी मिसाएर बनाइने बटुक, भाते जाँड, रक्सी तथा माछा–मासु खाने चलन कुमाल समुदायमा प्रचलित छ । माघे सङ्क्रान्तिका दिन कुखुरा र सुँगुर काट्ने, पितृको नाममा पूजा गर्ने र चामल तथा रगत मिसाइएको टीका लगाउने परम्परा पनि रहेको छ ।यस पर्वमा नाचगानको विशेष महत्व छ । माघे सङ्क्रान्तिका अवसरमा पाउदुरे नाच र हेम्फाइ नाच नाच्ने चलन कुमाल समुदायको मौलिक सांस्कृतिक पहिचान हो । ढोल, मादल र स्थानीय बाजागाजासहित सामूहिक नृत्य गरी वर्षभरिका पीर, मर्का र दुःख भुल्ने तथा रमाइलो गर्ने परम्परा छ । यसले समुदायभित्र सामाजिक सद्भाव, सामूहिक भावना र सांस्कृतिक निरन्तरतालाई मजबुत बनाउँछ ।
पुसमा चिचर (अनादि चामल) पकाएर घिउमा भुटी खाने चलन पनि कुमाल समुदायमा रहेको छ । खेतीबाली भित्र्याएपछि पुसमा पकाएर माघमा खाने चलनले कृषि सभ्यताको झल्को दिन्छ । सूर्यनारायण पुस–माघदेखि उत्तरायण हुने भएकाले प्रकृति पूजक कुमाल जातिले यस समयलाई नयाँ वर्षको सुरुवातका रूपमा लिने गर्दछन् । यस अर्थमा माघे सङ्क्रान्ति केवल पर्व नभई समयचक्रको परिवर्तन र नयाँ आशाको प्रतीक हो ।
कुमाल जातिको साझा संगठन नेपाल कुमाल समाज सुधार समितिले जिल्ला जिल्लामा पछिल्ला वर्षहरूमा माघे सङ्क्रान्तिलाई भव्य कार्यक्रमका रूपमा मनाउन थालेको छ । यसले कुमाल समुदायको सांस्कृतिक पहिचानलाई राष्ट्रिय स्तरमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको छ । माघे सक्रातिलाई कुमाल समुदायको राष्ट्रिय पर्वका रूपमा घोषणा भइसकेको छ, जसले यस पर्वको ऐतिहासिक, सामाजिक र सांस्कृतिक महत्वलाई थप सुदृढ बनाएको छ ।
