काठमाडौँ । नेपालका अल्पसङ्ख्यक तथा आदिवासी जनजनति कुमाल समुदायले आफ्नो महान् राष्ट्रिय पर्वकाे रूपमा चिनिँदै आएको माघे सक्राति यस वर्ष पनि माघ १ गते देशका विभिन्न जिल्लामा छुट्टा–छुट्टै रूपमा आयोजना गरिएका कार्यक्रमहरू मार्फत भव्य र उल्लासपूर्ण रूपमा सम्पन्न भएको छ। कुमाल समुदायले आफ्ना स्थानीय परम्परा, भाषा र संस्कृतिअनुसार फरक–फरक शैलीमा पर्व मनाएका हुन्।परापूर्वकालदेखि नै नदी किनार र कृषि कर्ममा आश्रित यस समुदायले माघ १ गतेलाई नयाँ वर्ष र उल्लासको दिनका रूपमा मनाउने गर्छन्।

यो पर्व विशेष गरी:
पितृ पूजा: आफ्ना दिवंगत पितृहरूलाई स्मरण गर्दै कुल देउताको पूजा गर्ने दिन हो।
प्रकृति र माटोको सम्मान: कुमाल जाति माटोको भाँडा बनाउने पुख्र्यौली पेशासँग जोडिएकाले यस दिनलाई माटो र प्रकृतिको आशीर्वाद लिने अवसरका रूपमा लिइन्छ।
पारिवारिक पुनर्मिलन: विवाहित छोरीचेली (भान्जा-भान्जी) लाई घरमा निमन्त्रणा गरी टीका र आशीर्वाद दिने गरिन्छ, जसले पारिवारिक सम्बन्धलाई मजबुत बनाउँछ। यस वर्ष नवलपुर, चितवन, तनहुँ, कास्की, पाल्पा, दाङ, झापा, र सङ्खुवासभा लगायतका जिल्लाहरूमा कुमाल समाज सुधार समितिको नेतृत्वमा कुमाल समुदायले स्थानीयस्तरमै सांस्कृतिक कार्यक्रम आयोजना गरेका थिए।हरेक जिल्लामा समुदायको सक्रिय सहभागितामा माघे सक्राति मनाइँदा मौलिक पहिरन, परम्परागत कौडा नाच, पौधुरे नाच तथा विभिन्न लोकनृत्य प्रस्तुत गरिएको थियो। जिल्लाअनुसार नाच–गान, सांस्कृतिक प्रस्तुति र कार्यक्रमको स्वरूप फरक–फरक भए पनि पर्वप्रतिको उत्साह र एकता समान देखिन्थ्यो। कतिपय स्थानमा सांस्कृतिक झाँकी, सामूहिक भेटघाट, खेलकुद तथा सामाजिक सद्भाव अभिवृद्धि गर्ने कार्यक्रमहरू समेत सञ्चालन गरिएका थिए। स्थानीय कुमाल समाज, आमा समूह तथा युवा विद्याथीहरुकाे अगुवाइमा कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरिएको जनाइएको छ।कुमाल समुदायमा माघे सक्रातिलाई नयाँ वर्षको सुरुवात, शुद्धता, सामाजिक सद्भाव र सांस्कृतिक पुनर्जागरणको प्रतीकका रूपमा लिइन्छ।

आदिकालदेखि नै पुस्ता–पुस्तासम्म निरन्तर रूपमा मनाइँदै आएको यो पर्व कुमाल जातिको पहिचान, गौरव र एकताको आधारका रूपमा रहेको समुदायका अगुवाहरूले बताएका छन्। विगतका वर्षहरूभन्दा यस वर्ष कुमाल समुदायले आफ्नै पहल र आयोजनामा पर्व मनाउन सफल हुनुले समुदायभित्र एकता, समझदारी, सक्रियता, जोश र ऊर्जाको सकारात्मक सन्देश दिएको छ। “कुमाल समुदायले पनि आफ्ना पर्वहरू आफ्नै प्रयासमा, संगठित रूपमा मनाउन सक्छ” भन्ने आत्मविश्वास यस वर्षको माघे सक्रातिले मजबुत रूपमा देखाएको सहभागीहरूको भनाइ छ।
विशेषगरी नयाँ युवा पुस्तामा कुमाल संस्कृति, भाषा, पहिचान र परम्पराप्रति बढ्दो चासो, माया र सम्मान देखिनु यस वर्षको सबैभन्दा सकारात्मक पक्षका रूपमा लिइएको छ। विगतको तुलनामा यस वर्ष धेरै युवाहरू आफ्नै मौलिक वेशभूषामा सजिएर, सांस्कृतिक कार्यक्रममा सक्रिय सहभागिता जनाउँदै, शुभकामना साटासाट गर्दै आफ्ना परम्परा र संस्कृतिप्रति आकर्षित भएको देखिएको छ। यसले कुमाल समुदायको दीर्घकालीन सांस्कृतिक संरक्षणमा आशा जगाएको छ।

कार्यक्रममा सहभागीहरूले सम्बन्धित निकाय तथा कुमाल समाज नेपाल ले आगामी दिनहरूमा कुमाल जातिका मौलिक पर्व र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा अझ सक्रिय भूमिका खेल्नुपर्ने सुझाव दिएका छन्। विशेष गरी कुमाल समुदायका आफ्नै मौलिक गीत–संगीत, सांस्कृतिक सामग्री र परम्परामा आधारित सिर्जनाहरू उत्पादन गर्न सके समुदायको पहिचान अझ सशक्त हुने सहभागीहरूको भनाइ छ।












